
काठमाडौं । सूर्यविनायक नगरपालिका–८ स्थित सोही ठाउँ बस्ने धादिङ ज्वालामूखी गाउँपालिका–३ घर भएका ४३ वर्षीय नवराज भट्टले सञ्चालन गरेको बिके सप्लायर्समा विद्युत सर्ट भई बिहान लागेको आगो फैलिएर नजिकै रहेको दिनेश मचामसीको ट्रस्टमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैबीच बेदकोट नगरपालिका–७ लालपुरस्थित सडकमा से.६ प २२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २४ वर्षीय बिक्रम बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी सुनछहरी गाउँपालिका–१ खुर्रे खोला नजिकको ओढारबाट भरूवा बन्दुक ६ थान बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पोवाङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका–३ रिङ रोड वीरेन्द्र टोलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय गौरी सिंह महरालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।









