
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले सरकारलाई एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न निर्देशन दिएको हो । समितिले छानबिन नगरुनजेलसम्म एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता सापकोटाले सरकारले बनाउने छानबिन समितिले दोषी देखाए दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताएका छन् । भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएको दुःखद घटना सुन्न परेको बताएका छन् । नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निणर्य राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको र यो गठबन्धन पाँच वर्ष नै रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् । राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर छ । पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबीसमेत गरेका छन् । अपराधीहरूलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको ओलीको भनाइ थियो ।









