
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सकारात्मक परिणामस्वरुप आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको बताउनुभयो । सुशासन कायम गरी सेवाग्राहीलाई सर्वसुलभ ढङ्गबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनुभयो । भ्रष्टाचारका प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएकाले यसको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पर्क निकायका रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । भ्रष्टाचारका सबै स्वरूप र आयामलाई अपराधको रूपमा परिभाषित गरी दण्डनीय बनाउने, भ्रष्टाचार सम्बन्धी कसुरको सम्बन्धमा सुपुर्दगी, पारस्परिक कानुनी सहायता र भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्ति फिर्ता गर्ने सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै यसविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले वर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गरेका छन् । नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले अहिलेको सरकार कुनै पनि बेला ढल्न सक्ने बताएका छन् । उनले अहिलेको सरकार हरेक हिसाबले उपयुक्त नभएको दावी गरेका छन् । कार्यक्रममा एमाले स्थानीय समिति सदस्य एवं सम्पर्क समन्वय समितिका इन्चार्ज लालबाबु पण्डिले एमालेको समृद्ध नेपाली सुखी नेपालीको अभियानपछि पार्टीले नयाँ राजनीतिक कार्यक्रम ल्याएर मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने बताएका छन् । त्यस्तै विश्वमा जम्मा १९ वटा मात्र मुलुक स्वाधीन रहेका बेला स्वाधीन रहेको मुलुकलाई स्वतन्त्र र स्वाधीन बनाउन नसक्नु लज्जाको विषय भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । पार्टीले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा गएका अध्यक्ष ओलीले राष्ट्रियताका मामलामा लज्जास्पद काम गर्न नहुने तर्क राखेका छन् । चीनले दिएको सहयोग लिन पनि नेपाल डराउने गरेको अध्यक्ष ओलीको आरोप छ । नेपालको उत्पादन चीन पठाइदिए जति पनि किनिदिन्छौँ भन्दा पठाउन पनि डराएको, चीनमा उत्पादन गरेको बस्तु पठाइदिन्छौं भन्दा किन्न पनि डराएको आरोप उनको छ । प्रजातान्त्रिक शासन व्यवस्थामा प्रतिष्पर्धा हुने भएकाले स्वच्छ प्रतिस्पर्धा गर्न अध्यक्ष ओलीको आग्रह छ ।









