
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको समेत बताएका छन् । उनले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएरमात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताएका छन् । संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले संविधान निर्माणको आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारेका छन् । प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको र अब तीन करोडभन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताएका छन् । उनले संघीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिएका छन् । क्रान्ति र शान्ति दुवैको नेतृत्व आफूहरूले गरेको भन्दै प्रधानमन्त्री दाहालले क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई गहिरो गरी बुझ्ने जिकिर गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै नेता कोईरालाले यस्तो बताएका हुन् । नेता कोईरालाले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताएका छन् । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताएका छन् । नेता कोईरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरेका छन् । यसैबीच अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ मा रहेको बेलकोट भञ्याङ माविको स्वणर् जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् । विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनाशकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको अर्थमन्त्री महतले बताएका छन् । अहिले आत्मविश्वास जगाउँदै विचार पुर्याएर लगानी गरियो भने उत्पादन तथा रोजगारी बढ्ने र त्यसले राजश्व बढाउने उनले बताएका छन् । देशको अर्थतन्त्र सुधारको लयमा फर्कँदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको उनले बताएका छन् ।









