
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको पनि जानकारी गराएका छन् । द्वन्द्व पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरु आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरेका छन् । यसैबीच नेपाली कांग्रेसका सांसद हृदयराम थानीले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा बाहिर आएका र माओवादी केन्द्रका नेताहरूको नाम जोडिएका प्रकरणहरू छानबिन गरेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा थालीले यस्तो चुनौती दिएका हुन् । सांसद थानीले सिङ्गो सचिवालय मुछिएको सुन प्रकरणमा पनि छानबिन गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका छन् । त्यस्तै सांसद थानीले निर्मला पन्तको हत्यारा छानबिनका विषयमा पनि ध्यानाकर्षण गराएका छन् ।









