
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्न तयारी गरेको छ । नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको शीतल निवास स्रोतले बताएको छ । प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा प्रधानमन्त्री पुष्पकमल दाहाल असफल भएपछि राष्ट्रपति पौडेलले आइतबारसम्मको समयावधि दिएर नेपालको संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहयोग प्राप्त सरकारका लागि आह्वान गरेका थिए । सोहीअनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगै शीतल निवास पुगेर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । यसैबीच नेपाली कांग्रेसले मन्त्री बन्न दुई आधार तय गर्ने निणर्य गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले दुई आधारमा मन्त्री चयन गर्ने निणर्य गरेको हो । कांग्रेका प्रवक्ता प्रकाशरण महतले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निणर्य भएको बताएका छन् । त्यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निणर्य गरेको छ । गत असार १७ गतेको भएको सहमतिअनुरूप कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुने प्रवक्ता महतको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि संसदका दुई ठूला दल कांग्रेस र एमालेले शुक्रबार राति नै राष्ट्रपति कार्यालय पुगेर ओली नेतृत्वको सरकार गठनका लागि दाबी पेस गरेका हुन् । यसैबीच सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान र भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्व कायम गर्ने बताएका छन् । वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले आदिकवि भानुभक्तले गरेको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताएका छन् । सोही अवसरमा प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञाप्रतिष्ठानले सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताएका छन् । भानु प्रतिष्ठानका अध्यक्ष डा.नवराज लम्सालले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।









