
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरेका छन् । यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने अवस्था आएको बताएका छन् । राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका छन् । मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरेका छन् । भारतबाट विद्युत् आयात गरेर धान्नसक्ने अवस्था अब नरहेको उनको भनाइ छ । मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विद्युत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्र उत्पादन गरेको र बाँकी सबै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिएका छन् । निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरेका छन् । उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरेका छन् । त्यसैगरी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षमा योजनाहरु छनोट हुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई ध्यानमा राखेर व्यवहारिक रुपमा योजनाहरु छनोट गर्ने बताएका छन् । उनले बढी भन्दा बढीलाई फाइदा हुनेगरी योजना छनोट गर्ने बताएका छन् । योजना सम्पन्न गर्न धेरै रकम चाहिने र उपलब्ध श्रोत र साधनअनुसार काम गर्दै जाँदा काम केही सुस्त हुने बताएका छन् ।









