
काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए, जसलाई सभाले सर्वसम्मत पारित गरेको हो । विधेयकमा सांसदले राखेका संशोधनको प्रस्ताव राखेका थिए । उनीहरुको प्रश्नको अर्थमन्त्रीले जवाफ दिएपश्चात सबै संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । बैठकमा विनियोजन विधेयक पारित गर्नु मन्त्रालयगत रुपमा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिएका थिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिन निष्प्रभावकारी पार्न कमजोर समिति बनाएको भन्दै पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठित समिति खारेज गर्न माग गरेको छ । पार्टी प्रवक्ता मनीष झाले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने गरी स्वार्थप्रेरित समिति बनाएको टिप्पणी गरेका छन् । ठूला नेता र उच्चपदस्थ कर्मचारीसमेत तानिन सक्ने सम्भावनाका कारण कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्न खोजेको रास्वपाको आरोप छ । भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि नभएको जिकिर गर्दै रास्पवाले गृहमन्त्रीको परोक्ष संलग्नताको आशंका र प्रत्यक्ष संरक्षणको प्रारम्भिक प्रमाण देखिएको जनाएको छ । त्यसैगरी भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन् । दुबै दलले गठित समितिले लक्ष्यअनुरूप निष्कर्ष दिन नसक्ने दाबी गर्दै संसदमा आफ्नो असन्तुष्टि राखेका थिए । समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले संसद् बहिष्कारको निर्णय गरेका हुन् । रास्वपा र राप्रपाका सांसदहरूले छानबिन समितिमा पुनर्विचार गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्न थालेका हुन् ।









