
काठमाडौँ । वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था अनिवार्य रूपमा अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ । रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा नपाएको, सुरक्षित आवास नपाएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको गुनासो बढेपछि सरकारले यस्तो कदम चालेको हो । नयाँ व्यवस्थाअनुसार म्यानपावरले आफूले विदेश पठाएका प्रत्येक श्रमिक समूहको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्नेछ । मासिक रूपमा कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, आवास र कार्य वातावरणबारे जानकारी लिनुपर्नेछ । समस्या देखिएमा रोजगारदाता कम्पनीसँग समन्वय गरी समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, संकलित विवरण प्रत्येक तीन महिनामा विभागमा बुझाउनुपर्नेछ । विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, श्रम अधिकार र गुनासो प्रक्रिया स्पष्ट रूपमा जानकारी गराउनुपर्ने तथा आवश्यक परे उद्धार र क्षतिपूर्तिमा पनि म्यानपावरले सहयोग गर्नुपर्ने विभागले जनाएको छ । यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएका छन् । जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए । सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री शाह लगायतको पनि उपस्थिति थियो । मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तु जडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ । पार्टीको विधान, राष्ट्रिय महाधिवेशन कार्यविधि तथा निर्वाचन कार्यविधिले दिएको अधिकार प्रयोग गर्दै जारी गरिएको आचारसंहिताले उम्मेदवार, प्रतिनिधि तथा निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई बाध्यकारी हुने जनाएको छ । आचारसंहिताअनुसार उम्मेदवारी निर्वाचन आयोगबाट प्रमाणित भएपछि मात्र प्रचार–प्रसार गर्न पाइनेछ । निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाइएको भन्दै कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न रोक लगाइएको छ । निर्वाचन प्रचारका लागि अधिकतम २×२ फिट आकारको एउटा मात्र पोस्टर प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ । महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जाल, एसएमएस वा अन्य सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउन, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ । उम्मेदवारले प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भए पनि नाराबाजी, जुलुस, शक्ति प्रदर्शन वा होहल्लाजस्ता गतिविधिमा रोक लगाइएको छ । आचारसंहिताले पार्टीका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदलगायत जिम्मेवारीमा रहेका सदस्यलाई आफ्नो पद, स्रोत, अधिकार वा प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाइने स्पष्ट गरेको छ ।









