
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले महरलाई बुधबार दिउँसो पक्राउ गरेको हो । इलेक्ट्रिक सिगरेट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महरालाई पक्राउ गरिएको सिआईबी स्रोतले जानकारी दिएको छ । चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । जसका कारण सरकारको चर्को आलोचना हुँदै आएको थियो । उनले सामाजिक सञ्जालमार्फत् सिआईबीकहाँ आफैं उपस्थित भएको उल्लेख गरेका छन् । त्यसैगरी सरकारले एमसीसी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले एमसीसी कार्यान्वयनका विषयमा आशंका नगर्न आग्रह गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन मुख्य विषय भएको बताइन् । उनले विस्तृत छलफलपछि सदनबाट १२ बुँदे व्याख्यात्मक घोषणा नै पारित गरिसकेको अवस्थामा यसलाई व्याख्यात्मक घोषणासहित कार्यान्वयन गरिने जिकिर गरे । उनले एमसीसीका विषयमा कुनै समस्या आए पुन छलफल गरेर समाधान गरिने बताए । त्यस्तै प्रवक्ता शर्माले चीनले सार्वजनिक गरिएको नक्सामा नेपालको पुरानै नक्सा राखिएको विषयमा कुटनीतिक ढंगले नै कुराकानी गर्नुपर्ने बताइन् । मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्दै प्रवक्ता शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निणर्य भएको जानकारी दिइन् । त्यसैगरी नेकपा एमालेले मङ्सिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निणर्य गरेको छ । सिरहाको सर्रे अम्बासमा बसेको एमालेको २५ औं सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रीत अभियानको खाका बनाउने निणर्य गरेको छ । बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ । यस्तै चौथो महाधिवेशन आयोजना गरिएको स्थलमा बैठक बसेकाले त्यतिबेला तय भएको राजनीतिक, वैचारिक कार्यदिशा पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई थप विकास गर्ने प्रस्ताव पारित गरिएको छ । २०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म त्यसबेलाको नेकपा मालेले सर्रे अम्बासको काठेघरमा चौथो महाधिवेशन आयोजना गरेको थियो । त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो । शान्तिपूणर्, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो । नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरूद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो । २०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए । ५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो ।









