
काठमाडौं । झापा, दमक नगरपालिका-५ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय समिर गजमेर, दमक नगरपालिका-६ बस्ने २९ वर्षीय रोशल बुढाथोकी, सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिर गजमेरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो । यसैगरी दाङ, राप्ती गाउँपालिका-५ सिङ्गेस्थित सडकमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा.९ च ७१९८ नम्बरको स्कार्पियोले रा.६ प ५७३८ नम्बरको मोटरसाइकललाई राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय सन्तराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, दोधाराचाँदनी नगरपालिका-१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय पवन धामी र भिमदत्त नगरपालिका-१० गड्डा चौकी बस्ने २३ वर्षीय कुस कार्कीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालगर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ७११२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै सोही स्थानबाट युए ०४ डि ४०२८ नम्बरको मोटरसाइकलमा सवार दोधाराचाँदनी नगरपालिका-२ बस्ने १९ वर्षीय सन्तोष सार्की र १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ ।









