
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए । गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ । उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री दाहालले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिएका छन् । उनले व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुनेसमेत बताएका छन् । कार्यक्रममा समितिले नेपाल संवत्लाई सम्पूणर् सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निणर्य गरेकामा प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो । त्यस्तै काठमाडौँमा मंसिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँ ठाउँमा गरिएको सुरक्षा जाँचका कारण संकटकालमा जसरी यात्रुले सास्ती खेपेका छन् । संविधानमा उल्लेखित अधिकार हनन् हुनेगरि स्वतन्त्र पूर्वक हिडडुलगर्न समेत नदिने गरी सुरक्षा जाँच गरिएको बताइएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले धादिङको मझिमटार, गल्छी, फुर्केखोला, खानीखोला लगायतका स्थानमा एकठाउँमा जाँच गरिएको यात्रुलाई अर्को ठाउँमा पनि जाँच गरिएको छ । युवा संघ र दुर्गा प्रसाईँको छुट्टाछुट्टै प्रदर्शन काठमाडौँमा राखिएपछि मंसिर ५ र ६ गते राजमार्गका ७ ठाउँमा यात्रु जाँच गरिएको र प्रदर्शनमा जान लागेको भनिएकाहरुलाई फर्काइएको छ । गल्छीमा मोटरसाइकल र मालवाहक ट्रकहरु जाँच गरिएको छ भने मझिमटारमा यात्रुबहाक बस र खानीखोलामा निजि सवारी साधन जाँच गरेर हातहतियार र लाठिभाला काठमाडौँमा लान नदिनेगरि सुरक्षा जाँच गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।









