
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । प्रदेश राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका चार जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसले २ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् । त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चार जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले का चार जना उम्मेदवारले मनोनयन दर्ता गराएको छ । नेमकिपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपालीले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल ३ सय ४७ जना मतदाताले मतदान गर्ने छन् । जसमा प्रदेश सभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २३७ जना रहेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निणर्य गरेर जानुपर्ने बताएका छन् । बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताएका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो हमला आफूहरूमाथिको हमला भएको बताएका छन् । पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् । जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो । उनले आफूहरूले कोशिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरेका छन् ।









