
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन् । सिरहाको सिरहा नगरपालिका- १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका- ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताएका छन् । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताएका छन् । निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रबर्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने जनाएका छन् । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ १ हजार ५ सय दशमलव ४४ मिटर लामो पुल हो । त्यसैगरी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताएका छन् । नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले देशका सबै अवयव अहिले संकटमा परेको बताएका छन् । अन्तराष्ट्रिय स्तरमा समेत देशका छवि अति कमजोर भएको उनको भनाई छ । नेपालको अर्थतन्त्र अहिले अति अप्ठेरोमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । अहिले मुख्य बजार केन्द्रका एक तिहाइ सटर बन्द अवस्थामा रहेको उनले बताएका छन् । सरकार स्वयम्ले तस्करी र भ्रष्टाचारको समानान्तर अर्थतन्त्र चलाएकोले देश ठुलो आर्थिक संकटमा परेको उनले टिप्पणी गरेका छन् । एयरपोर्टबाट नै निर्लज्जतापूर्वक क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको उनले बताएका छन् । प्रधानमन्त्री र सरकारका मन्त्रीले नै धार्मिक र सामाजिक सद्भाव भड्काउने प्रयत्न गरी रहेको ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीले जातीय राज्य दिने र संस्कृति मन्त्रीले हिन्दु र बौद्धिष्टलाई गाली गरेर कुनै एउटा धर्म विशेषलाई भड्काउने काम गर्नु त्यसको उदाहरण भएको उनले बताएका छन् । सरकारका कामले देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको उनले बताएका छन् । नेकपा एमालेबाट निर्वाचनमा भाग लिन अब पार्टीको आधारभूत तालिम लिएकै हुनु पर्ने नीति पार्टीले लिएको उनले जानकारी दिएका छन् । पार्टीका नेता कार्यकर्तालाई राजनीतिक र वैचारिक रूपमा बलियो बनाउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको उनले बताएका छन् । विश्व परिस्थिति र राजनीतिक परिवर्तन थाहा पाउन निरन्तर अपडेट हुनु पर्ने उनले बताएका छन् । समयमा अपडेट हुन सकिएन भने असान्दर्भिक हुने उनले बताएका छन् । एमाले सत्ताको लागि नभएर समाज परिवर्तन र समृद्धिको लागि जन्मिएको पार्टी भएको ज्ञवालीले दाबी गरेका छन् । एमाले कार्यकर्ता जस्तोसुकै आँधी हुरीमा पनि सतिसाल जस्तै उभिने हुन सक्नु पर्ने उनले बताएका छन् । त्यसको लागि पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने, भावनात्मक रूपमा पार्टीलाई एक बनाउने, जनतासँगको सम्बन्ध जोड्ने पार्टी बनाउनु पर्ने उनले बताएका छन् ।









