
काठमाडौं । धौलागिरी गाउँपालिका-७ आरखोला बस्ने ६५ वर्षीय तुल प्रसाद न्यौपानेको घर बिहान पहिरोले पुरिँदा तुल प्रसाद र उनकी श्रीमती ४९ वर्षीया बालकुमारी न्यौपानेको मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ६० वर्षीय मान बहादुर धामी सोही नगरपालिका-१ सितानगर स्थित डोडा नदीमा मृत अवस्थामा फेला परेका छन् । तनहुँ, म्याग्दे गाउँपालिका-६ स्थित खेतमा सोही ठाउँ बस्ने ४८ वर्षीया विष्णु माया सुनार कुमाल मृत अवस्थामा फेला परेकी छिन् । ताप्लेजुङ, सिदिङवा गाउँपालिका-१ स्थित गोठमा सोही गाउँपालिका-७ सुरुङखिम बस्ने २३ वर्षीय ईन्द्र भन्ने राज कुमार गुरूङ मृत अवस्थामा फेला परेका छन् ।









