
काठमाडौँ । राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ सदनमा दफावार छलफल भएको थियो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराएका छन् । आर्थिक विधेयक, २०८१ माथिको छलफलमा सांसदहरु भगवती न्यौपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्नसक्ने खालका आशङ्का गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पारेका छन् । यसअघि बैठकमा अध्यक्ष दाहालले विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको, मन्त्रिपरिषद्को कार्यसञ्चालन, प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र वाचन गरेका थिए । त्यसैगरी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संघीय सरकारले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन छिटो बनाउनुपर्ने कुरामा जोड दिएकी छन् । बुढानीलकण्ठ नगरपालिकाको १४औं नगरसभा समापन कार्यक्रममा बोल्दै उनले आवश्यक कानुनको अभावमा स्थानीय र प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेका कारण छिटोभन्दा छिटो आवश्यक कानुन बनाउनुपर्ने कुरामा जोड दिइन् । राष्ट्रिय सभाले बाँकी रहेका कानुन बनाउन निर्देशन दिएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन बनाउन र कार्यान्वनयका लागि राष्ट्रिय सभा जवाफदेही ढंगले लागेको दाबी गरिन् । प्रहरी समायोजन, संघीय निजामति सेवा सम्बन्धी कानुन बनाउनुपर्ने, प्राकृतिक स्रोत साधनको उपयोग र प्रयोगमा तीन तहको अधिकार क्षेत्र प्रष्ट हुनुपर्ने लगायतका विषय राष्ट्रिय सभाले निरन्तर उठाएको उनको भनाइ थियो । उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा स्थानीय तह र प्रदेश सरकार संग सधै सहकार्य गरिरहेको बताइन् । यसैबीच नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले मिलेर काम गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन् । दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड थियो ।









