
काठमाडौं । बैजनाथ गाउँपालिका-२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर बिहान मृत्यु भएको छ । माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ गोबरीस्थित प्रतिक्षालयमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश कोहार मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-१ तेल्लाबुङ बस्ने ७९ वर्षीया धनमायाँ लुवागुन सोही गाउँपालिका-२ स्थित हात्तिखावा जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुली, दुधौली नगरपालिका-६ ढोडेनी बस्ने ६५ वर्षीया हिरा कुमारी भुजेल सोही ठाउँस्थित बाटो छेउमा मृत अवस्थमा फेला परेकी छिन् । मोरङ, केराबारी गाउँपालिका-८ आमजुङिस्थित कृष्ण क्रसरको कम्पाउण्डभित्र खाल्डोमा जमेको पानीमा सोही ठाउँ बस्ने तोयानाथ चौलागाईको छोरा ६ वर्षीय रामचरण चौलागाई र ८ वर्षीय भुपेन्द्र चौलागाई मृत अवस्थामा फेला परेका छन् ।









