
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जानकारी दिएको छ । यसैबीच सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १३ दिनको म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् । जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको बताइएको छ । यसअघिको १० दिने म्याद सकिएपछि प्रहरीले आइतबार उनलाई अदालत पेस गरेको थियो । सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले) नै रहेको बताएका छन् । राजनीतिक अस्थिरता चीर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो । नेपाली कांग्रेसका संस्थापक नेता सुवणर् शमशेर जबराको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्थिर राजनीतिका कारण प्रतिस्पर्धी दुई दलबीच सहकार्य भएको दाबी गरेका छन् । २०८४ सालको निर्वाचनमा सहकार्य नहुने उल्लेख गर्दै उनले कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने दाबी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सुवणर् शम्शेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताएका छन् । उनले बिपी, सुवणर् शम्शेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरू प्रति एक अर्कोमा हार्दिकता, आत्मीयता र सद्भाव रहेको बताएका छन् । उनीहरूको त्याग अनुपम भएको उल्लेख गर्दै मन्त्री पाण्डेले आफू नै मन्त्री वा पार्टी सभापति बनिरहनु पर्छ भन्ने भावना नभएकाले नेपाली कांग्रेस अहिले पनि मुलुकको सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित रहेको दाबी गरेका छन् ।









