
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन् । भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजी लगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरुले गर्दै आएका कामबारे अवगत गराएका थिए । यसैबीच सहकारीको रकम अपचलनमा प्रहरीको नियन्त्रणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो आत्मबल अझै कायम रहेको बताएका छन् । रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रहरी हिरासतमै रहेपनि जोशजाँगरमा भने कमी नआएको बताएका हुन् । लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो । करिब चार घण्टा उनीसँग बयान लिइएको बताइएको छ । बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने भएको छ । जहाजमार्फत् उनलाई दिउँसो पोखराबाट बुटवल लगिएपनि साँझ परेकाले रुपन्देही प्रहरीकै हिरासत राखिने भएको सुरक्षा अधिकारीले बताएका छन् । त्यसैगरी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले वैदेशिक मुद्राको सञ्चिति, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याज दर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भएपनि आयात, निर्यात, उत्पादन, माग, पूँजीगत खर्च, लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरुलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारणहरु र निराकरणका उपायहरु पनि उत्तिकै आवश्यक हुने उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गरेका छन् । उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।









