
सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताएका छन् । सिंहदरबारमा आयोजित ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउन कानूनी संशोधन भइसकेको जानकारी दिएका छन् । सभामुख घिमिरेले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानबिनका लागि आयोगहरूको कामलाई संक्रमणकालीन न्यायका सिद्धान्तअनुरूप अघि बढाइने बताएका छन् । उनले आयोगहरूको कार्यान्वयन प्रभावकारी बनाउन विद्यमान कानून संशोधन गरिएको उल्लेख गरेका छन् । सभामुखले संविधान सभामार्फत नयाँ संविधान निर्माणको उपलब्धिलाई स्मरण गर्दै अल्पसंख्यक, उत्पीडित, सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीति आत्मसात गरिएको बताएका छन् । सभामुख घिमिरेले प्रविधिको प्रभावकारी प्रयोगले मानव अधिकार संरक्षणमा सघाउ पुर्याए पनि यसको दुरुपयोगबाट अरूका अधिकार हनन हुन सक्ने जोखिम औंल्याएका छन् । यसैबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । उनले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिएका छन् । उनले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताले चाहेजस्तो संघीयताका लागि संघर्ष गर्ने निणर्य गरेको छ । हालै काठमाडौंमा सम्पन्न पार्टीको एकता महाधिवेशनका निणर्य सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले अहिलेको संघीयता जनताले मागेजस्तो नभएकाले जनताको संघीयता स्थापित गर्नका लागि संघर्षमा जाने निणर्य गरिएको जनाएको हो । पहिचानसहितको संघीयता अहिलेको अवश्यकता रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले जानकारी दिए । उनले प्रदेश सरकारले काम गर्न नसकेकाले संघीयताका बारेमा भ्रम छर्ने काम भएको बताएका छन् । उनले अहिले मुलुकमा संकटै संकट रहेकाले यसलाई समाधान गर्न आफूहरू नयाँ शक्तिका साथ बिकल्पको रुपमा अघि बढ्ने गजुरेलले उल्लेख गरेका छन् ।









