
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाने भएका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले एकपटक देशको नेतृत्व गर्ने लक्ष्य राखेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चन्दले नेकपाले क्रान्तिकारी ध्रुवीकरणमार्फत देशको नेतृत्व र सेवा गर्न चाहेको उल्लेख गरेका छन् । उनले पार्टीको हालको एकता केवल सुरुवात भएको बताउँदै आगामी दिनमा थप एकताका अभियानहरू अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । महासचिव चन्दले नेकपाको एकता कुनै दरबार खान, टिस्टेट उपभोग गर्न, जग्गा हिनामिना गर्न वा मन्त्री भएर देशको पैसा विदेश पठाउनका लागि नभएको स्पष्ट पारेका छन् । उनले देशका लागि क्रान्तिकारी ध्रुवीकरण आवश्यक रहेको भन्दै पार्टीले यो जिम्मेवारी पूरा गर्न प्रतिवद्धता जनाउँदै आएको बताएका छन् । महासचिव चन्दले अरू राजनीतिक दलहरूले अघि सारेका ध्रुवीकरण र एकताका प्रयासमा नयाँपन नरहेको टिप्पणी गरेका छन् । उनले नेकपाको उद्देश्य देशको स्वाभिमान र समृद्धिका लागि नेतृत्व गर्नु भएको भन्दै अन्य दलका एकताभन्दा आफ्ना प्रयास फरक भएको दाबी गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन् । नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन् । केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताएका छन् । महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनको भनाई छ । समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताएका छन् ।









