
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरेका छन् । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले श्रमिक दिवसका अवसरमा सम्बोधन गरेका थिए । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै ठुलो आन्दोलनमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरूलाई एकै ठाउँमा ल्याएर छिटै ठुलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरूको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरेका छन् । आफूहरूको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै उनले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् । सरकारले सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खबरदारी गरिरहेको उनले बताएका छन् । प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई परास्त गरेरै छाड्ने धारणा राखेका छन् । उनले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि माओवादीलाई नरहेको भन्दै आफूहरू जनतासँगै ठिक रहेको स्पष्ट पारेका छन् । प्रचण्डले भ्रष्टाचारका प्रमुख कारक शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्णसमानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्ने बताएका छन् । उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा राखेका छन् । त्यसैगरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुख्य तीन दल नै श्री ३ भएर बसेको आरोप लगाएका छन् । नेपाल समाजवादी ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुख्य तीन दल नै श्री ३ भएर बसेको बताएका हुन् ।









