
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह गरेका छन् । बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिएका छन् । उनले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गरेका छन् । मन्त्री लेखकले सरकारले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा पाउनुपर्ने/नपाउनुपर्ने सबैलाई सुरक्षा दिएर सुरक्षाको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् । यसैबीच राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सूचारु गर्न चीनसँग समन्वय गर्ने बताएको छ । सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको बताएका छन् । उनले बाढीका कारण बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिएका छन् । भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरी ५७ जनाको तत्कालै उद्धार गरिएको जिकिर गरेका छन् । बाढीले २४ वटा कन्टेनर, ३५ वटा विद्युतीय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिएका छन् । त्यसैगरी उच्च अदालत पाटनले पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको काम नरोक्न काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई दायर गरेको रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले उक्त आदेश दिएको हो । बिल्डर्स र महानगरबिच काठमाडौं टावर परियोजना सम्बन्धमा सम्झौता भई भूमिगत दुई तल्लासहित १२ तले व्यावसायिक भवन निर्माणको लागि भएको नक्सापासलाई उच्च अदालतले आधार मानेको छ । वि.सं. २०८० माघ २८ मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३३ अनुसार महानगरपालिकाले निवेदकलाई तला थप गर्ने अनुमति प्रदान गरी भूमिगत २ तलासहित १९ तले भवन निर्माणको अनुमति दिएको र निवेदकले नक्सा स्वीकृत दस्तुर दुई करोड ३० लाख दुई हजार रुपैयाँसमेत दाखिल गरेको उच्च अदालतले औँल्याएको छ ।









