
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताएका छन् । पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताएका छन् । सभापति देउवाले कुनै पनि भ्रममा नपरी आगामी दिनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । सभापति देउवाले पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई स्थिरता दिनुपर्ने बताएका छन् । देशमा रहेका विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै उनले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको धारणा राखेका छन् । यसैबीच माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकार गरेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने बताएका छन् । सरकार हाबी हुने प्रवृत्तिका कारण संसदमा उठ्ने जनताका आवाज कमजोर भएको बताएका छन् । संसद् सत्तापक्षको संख्याको छायामा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । संसदमा कतिपय सांसदको भूमिकालाई लिएरसमेत प्रश्न उठाउँदै केही सांसदले संसद्को पूरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको बताएका छन् । संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने बताएका छन् । त्यसैगरी गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई सक्रिय बनाएकै कारण मन्त्री लेखकको कार्यकालको पहिलो बर्ष (गत आर्थिक बर्ष २०८१/०८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आर्थिक बर्षको भन्दा गत आर्थिक बर्षमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ ।









