
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको सौहार्दपूर्ण भेटवार्तामा लिपुलेकसम्बन्धी प्रष्ट आपत्ति राखेका छन् । चीन भ्रमणको क्रममा भएको द्विपक्षीय भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । उनका अनुसार भेटमा दुबै पक्षले सम्बन्ध अझ सुदृढ बनाउन आवश्यक संयन्त्रहरू सक्रिय रूपमा अघि बढाउने समझदारी गरेका छन् । सचिव राईका अनुसार प्रधानमन्त्री ओलीले चीन र भारतबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिप्रति नेपालको कडा आपत्ति रहेको स्पष्ट रूपमा राष्ट्रपति सी समक्ष प्रस्तुत गरेका थिए । नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वका सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको दाबी गर्दै आएको छ । यही आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालमा पर्छ भन्ने अडान नेपालले पुनः दोहोर्याएको हो । नेपालले यस मामिलामा चीनबाट सहयोग र स्पष्ट समर्थनको अपेक्षा लिएको पनि सचिव राईले बताएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रित आन्दोलन चर्काउने बताएका हुन् । कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासनको भनाइ मात्र तर भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानुन निर्माणमा समेत छेडखानी गरेकाले अब सशक्त आन्दोलन गर्ने उनले बताएका छन् । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचार विरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनु परेको उल्लेख गरेका छन् । दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताएका छन् । उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । एमाले रुपन्देहीको आयोजनामा मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरेका छन् । उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई/चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाएका छन् । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।









