
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् । जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको मन्त्री खरेलले बताएका छन् । हालसम्म आफूसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले सल्लाहकार पनि नियुक्त गरेकी हुन् । खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । उनी दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोबारेमा अनुसन्धानमा पनि संलग्न भएको बताइएको छ । यसैबीच शिक्षा मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भिसी, रजिस्ट्रार, रेक्टर र डीनहरूसँग छलफल गरेका छन् । उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा भिसीलगायतसँग जिज्ञासा राखेका थिए । विश्वविद्यालयका भिसीहरूले राजनीतिमुक्त नबनाएसम्म त्यस्तो सुधार हुन नसक्ने जवाफ दिएको मन्त्री पुनले उल्लेख गरेका छन् । ‘विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा परिणत गर्न सकिन्छ ? भनेर सोध्दा भिसीसहितका टोलीले उत्तर दिए, विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार गर्न सम्भव छैन वा धेरै गाह्रो छ,’ सामाजिक सञ्जालमा मन्त्री पुनले भनेका छन् । उनले भिसीहरूलाई दसैंपछि विश्वविद्यालय सुधारका उपायहरू ल्याउन निर्देशन दिएको बताएका छन् । त्यसैगरी जेन–जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई अनुसन्धानमा तानेको छ । जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई अनुसन्धानमा तानेको हो । अनुसन्धानमा तानेपछि आयोगले पाँचै जनाको विदेश भ्रमणमा पनि रोक लगाएको छ । यस्तै छानबिनका लागि जुनसुकै बेला पनि उपस्थित हुनुपर्ने भन्दै आयोगको स्वीकृतिबेगर काठमाडौं नछाड्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।









