
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहितको परिपत्र मातहतका निकायलाई पठाएको छ । नियमित अधिवेशन वैशाखमा हुने जानकारीसहित पार्टीले तल्ला कमिटीहरूलाई पत्राचार गर्दै विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि स्वतः समाप्त भइसकेको जानकारी गराएको हो । पार्टीले आगामी महाधिवेशनलाई समेत मध्यनजर गर्दै सदस्यता सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धारित कार्यतालिकाभित्र टुंग्याउन जोड दिएको छ । यसअघिका निर्वाचन तथा संगठनात्मक गतिविधिमा संलग्न क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरी केन्द्रमा पठाउन पनि परिपत्रमार्फत् निर्देशन दिइएको छ । यसैगरी कांग्रेसले संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया तत्काल अघि बढाउन मातहतका सबै तहका समितिलाई निर्देशन दिएको छ । जारी परिपत्रअनुसार जिल्ला, प्रदेश, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा कार्यसमितिलाई पार्टी विधान र निर्देशिकाअनुसार आवश्यक कार्य अगाडि बढाउन भनिएको छ । विधानविपरीत, अपारदर्शी वा विवादित ढंगले सदस्यता वितरण नगर्न सचेत गराउँदै पार्टीको अनुशासन, एकता र संगठनात्मक मर्यादा कायम राख्न सबै तहका नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्रै नभई व्यवहारमा पनि लागु गर्नुपर्ने बताएका छन् । नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् । शिक्षाको कमी र शिक्षामा भएका त्रुटी कमजोरीलाई सरकारले गर्नुपर्ने कर्तव्य पालन नगरेका कारणले शिक्षामा देखिएका कतिपय कमजोरीहरूको कारणले यस्तो अवस्थाको सिर्जना भएको मन्त्री सिन्हाले बताएका छन् । प्रविधि, डिजिटल प्लेटफर्म कृषि तथा पर्यटन सेवा र सिर्जनात्मक उद्यम जस्ता क्षेत्रमा महिलाले आफ्नो सिप ज्ञान र सोचले व्यवसायमा रूपान्तरण गरिरहेको मन्त्रीले बताएका छन् । मन्त्री सिन्हाले महिला लक्षित स्टार्टअप कार्यक्रम सौलियतपूर्ण कर्जा, सिप विकास, व्यवसाय दर्ता औद्योगिक संरचनामा पहुँच सहज बनाउने नीतिहरू कार्यान्वयनमा रहेको पनि बताएका छन् । महिला तथा पुरुष बिचको समानतालाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्नु नै समावेशी उद्यमशीलताको आधार भएको उनले बताएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नयाँ नेपालको नक्सा कोर्नुपर्ने भन्दै पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफाल्न पार्टीका नेता– कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले अपदस्त भएकाहरूलाई मानमर्दन गरेर समय खेर नफाल्न आग्रह गरेका हुन् ।









