
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ । आयोगले कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको छ । नयाँ प्रावधानअनुसार, अनलाइनमाध्यमको निर्वाचन प्रचारप्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै, थपिएको नयाँ बुँदामा संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता र यसको स्वनियमनलाई आन्तरिकीकरण गरिएको उल्लेख छ । सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषा गरिएको छ भने बदलिँदो समयमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी हुने आचारसंहिताको उल्लङ्घनका विषयलाई समेटिएको छ । पत्रपत्रिकाका माध्यमबाट प्रचारप्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन सञ्चार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होमपेज, व्यानर, डिटेल पेज व्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा) का माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउनसक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन देउवा निवास महाराजगन्ज पुगेका हुन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । भेटमा आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ । यसैबीच नेपाली कांग्रेसले विशेष महाधिवेशनको माग औचित्यहीन भएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई त्यसतर्फ नलाग्न आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा पौष २३ गते जारी विज्ञप्तिमा मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा १५औं महाधिवेशनको कार्यतालिका स्वीकृत भइसकेकाले विशेष महाधिवेशनको माग स्वतः समाप्त भइसकेको भनिएको छ । विज्ञप्तिअनुसार १५औं सामान्य महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया निरन्तर चलिरहेको छ । यही आधारमा वडा अधिवेशन हुँदै महाधिवेशनसम्मको प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ । त्यस्तै आगामी निर्वाचनलाई अत्यन्त महत्वपूर्ण जिम्मेवारीको रूपमा लिँदै पार्टीका सबै सदस्य, समर्थक र शुभेच्छुकलाई कांग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ ।









