
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको हो । सरकारी वकिलको कार्यालयले ओली र लेखकमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप्न माग गरेको थियो । गत भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई पक्राउ गरिएको हो । अदालतमा उपस्थित गराउनुअघि लेखकलाई सरकारी वकिल कार्यालय लगिएको थियो । अस्वस्थताका कारण ओलीलाई भने भर्चुअल माध्यमबाट अदालत उपस्थित गराइएको थियो । ओली उपचारका लागि टिचिङ अस्पतालमा छन् भने लेखक २ नं गण महाराजगन्जको हिरासतमा छन् । जेनजी आन्दोलनका घटनासम्बन्धी अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै अनुसन्धान गरी मुद्दा अघि बढाउन सिफारिस गरेको छ । यसैबीच सरकारले तीन पूर्वप्रधानमन्त्रीहरूउपर सम्पत्ति शुद्धीकरणको छानबिन प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’उपर छानबिनको प्रक्रिया थालेको हो । पूर्वमन्त्रीहरू देउवापत्नी आरजु राणा र दीपक खड्काउपर सँगै छानबिन प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार पाँचैजनालाई सम्पत्ति शुद्धीकरण छानबिनका क्रममा विभागमा उपस्थित हुन पत्र काटिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही बुझ्नुपर्ने भएको भन्दै विभागले उनीहरूलाई पत्र काटेको हो । यसै क्रममा प्रहरीको सहयोगमा खड्कालाई पक्राउ गर्नुका साथै म्याद थपका लागि अदालत लगिएको छ । जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठ निवासमा ठुलो मात्रामा पैसाका नोट जलेका र फेला परेको थियो । त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ एप बन्द गर्ने प्रक्रिया सुरु भएको छ । बेटिङ एप बन्द गर्नका लागि ‘अपरेटर्स’ हरुलाई निर्देशन दिएर बन्द गर्ने कार्य सुरु भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ एप बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटलाई २४ घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।









