
काठमाडौँ । सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, जनस्वास्थ्य प्रवद्र्धन, पर्यटन विकास तथा आर्थिक समृद्धिसँग आबद्ध गर्दै विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा खेल क्षेत्रको व्यावसायीकरणलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागिता विस्तार गरिने तथा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख गरिएको हो । नीति तथा कार्यक्रममा खेल पूर्वाधार विकास, प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवद्र्धन तथा अन्तरराष्ट्रियस्तरमा नेपालको खेल पहिचान स्थापित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको जनाइएको छ । युवालाई राष्ट्र निर्माण तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रममार्फत युवालाई वित्तीय साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासका गतिविधिमा परिचालन गरिने सरकारको लक्ष्य रहेको छ । यसैबीच सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले बहुमतका आधारमा यस्तो आदेश दिएको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुँयालले अल्पकालीन अन्तरिम आदेश दिँदै ६ जेठमा अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका हुन् । त्यस्तै, न्यायाधीशहरू शारंगा सुवेदी र विनोद शर्माको इजलासले भने अल्पकालीन अन्तरिम आदेश आवश्यक नभएको भन्दै फरक मत राखेका थिए । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा १९ जना मनोनयन भएका छन् । कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । मनोनित हुने सदस्यहरुमा १. महेन्द्र यादव–धनुषा, २. जीवन परियार–कास्की, ३. उमेश श्रेष्ठ–चितवन, ४. रमेश रिजाल–पर्सा, ५. सुजाता कोइराला–मोरङ, ६. दिलेन्द्रप्रसाद बडू–दार्चुला, ७. डा. चन्द्रकान्त भण्डारी–गुल्मी, ८. अजयकुमार चौरसिया–पर्सा, ९. लक्ष्मी परियार–उदयपुर, १०. आङ्गेलु शेर्पा–सोलुखुम्बु, ११. दिनेशकुमार यादव–सप्तरी, १२. राजीव कोइराला–सुनसरी, १३. राजीव ढुंगाना–सुनसरी, १४. प्रा.डा. गोविन्दराज पोखरेल–प्युठान, १५. सुशीला मिश्र भट्ट–कैलाली, १६. नागिना यादव–महोत्तरी, १७. दिनेश कोइराला–चितवन, १८. डा. जीवन राना–कैलाली, १९. सीता थपलिया (उर्मिला)–धादिङ रहेका छन् ।









