
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताएका छन् । उनले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम भएको बताएका छन् । शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ । नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सूचना प्रविधिको द्रुत विकास भइरहेको आधुनिक युगमा नेपालको शैक्षिक प्रणालीले भविष्यमा आवश्यक पर्ने जनशक्तिबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा उनले जोड दिएका छन् । यसैबीच विमानस्थल तथा हवाई मार्ग आसपास उडान सुरक्षामा बाधा पुग्ने अग्ला भवन, टावर, रुखलगायतका संरचना हटाउन नेपाल हवाई सेवा प्राधिकरणलाई अधिकार दिने प्रस्ताव गरिएको छ । सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा तोकिएको मापदण्डभन्दा बढी उचाइका संरचना निर्माणमा प्रतिबन्ध लगाउने तथा निर्माण भइसकेका संरचना भत्काउन वा रुख काट्न सरकारसमक्ष अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ । मापदण्डविपरीत निर्माण भएका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नै खर्चमा तोकिएको समयभित्र हटाउनुपर्नेछ । तोकिएको अवधिमा नहटाए प्राधिकरणले आफैं हटाएर लागेको खर्च सम्बन्धित पक्षबाट असुल गर्न सक्ने व्यवस्था विधेयकमा छ । यस्तै, उडान सुरक्षामा गम्भीर जोखिम देखिएमा प्राधिकरणका अख्तियारप्राप्त अधिकारीले सुरक्षा निकाय र स्थानीय प्रतिनिधिको रोहवरमा निजी घरजग्गामा प्रवेश गर्न सक्ने प्रस्ताव गरिएको छ । हवाई दुर्घटना रोक्न वा उपकरणको आपतकालीन मर्मत गर्नुपर्ने अवस्थामा भने पूर्वसूचनाबिनै जुनसुकै समयमा निजी घर वा जग्गामा प्रवेश गर्न सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ । त्यसैगरी नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै १५औ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने स्मरण गराएका हुन् । पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको कटुवालले जानकारी गराएका छन् ।









