
काठमाडौं । सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निणर्य गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिएका छन् । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ । यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो । थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विमान दुर्घटनापछि सरकारले बनाएको जाँचबुझ आयोगको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने दाबी गरेका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले यसअघि भएका विमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनमा विषयमा निकै प्रश्न उठ्ने गरेको भन्दै अहिलेको आयोगले दिने प्रतिवेदन सूक्ष्म ढंगले अध्ययन गर्ने र शत प्रतिशत कार्यान्वयन गर्ने बताएका छन् । सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी दिँदै मन्त्री पाण्डेले दुर्घटना भइसकेपछि विमानस्थल पुगेर घटनाको अध्ययन गरिरहेको र सरोकारवाला निकायलाई पनि आवश्यक निर्देशन दिइएको बताएका छन् । उनले नेपालको हवाई क्षेत्र इयुको कालोसूचीबाट निकट भविष्यमा नै हट्ने विश्वास व्यक्त गरेका छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सौर्य एयरलाइन्स दुर्घटनाको प्राविधिक विषयमा छानबिन आयोगलाई जानकारी गराउने बताएका छन् । बैठकमा समिति सदस्यहरूले नेपालमा निरन्तर हवाई दुर्घटना भइरहँदा पनि नियामक निकाय गम्भीर हुन नसकेको बताएका छन् । संसदहरूको प्रश्नको जवाफ दिँदै प्राधिकरणका महानिर्देशक अधिकारीले प्राधिकरणको जिम्मेवार निकायमा रहेका कारण दुर्घटनाको सबै जिम्मेवारी आफूले लिने बताएका छन् ।









