
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना अब व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको स्पष्ट पारेका छन् । उनले शिलान्यासमा मात्रै सीमित नभई निर्माणसँग सम्बन्धित सबै गतिविधि एकैसाथ अघि बढ्ने बताउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । धादिङ र गोरखा जिल्लाको साझा चासोको विषयका रूपमा रहेको बुढीगण्डकी आयोजना आफू विभिन्न जिम्मेवारीमा रहँदा पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले यसको सफल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुख अर्यालले देशको दिगो विकासका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको औँल्याउँदै विकास निर्माणका काममा सुशासन र पारदर्शिता सुनिश्चित गरिने बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । यसैबीच गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उनले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् । मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । गृहमन्त्री गुरुङले चितवन जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरेका छन् । उनले नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोग्रस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिएका छन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न अध्यक्ष दाहाल बिहान शीतल निवास पुगेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुने जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए । साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको जनाइको छ ।









