
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । साथै सोमबारदेखि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका छन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उनले जानकारी दिएका छन् । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ : ४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् । यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष भित्र परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् । पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारेका छन् । उनले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताएका छन् । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उनको भनाइ छ । उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गरेका छन् ।









