
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको, तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन् । प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको उक्त दुःखद घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यसैबीच नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक चुनौती र मुलुकको राजनीतिक अस्थिरताबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताएका छन् । पत्रकार सम्मेलनमा उनले ५ सय ५१ सदस्यीय आयोजक समितिमार्फत भेला आयोजना गरिएको जानकारी दिँदै पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउने उद्देश्य रहेको बताएका छन् । कोइरालाले देशमा लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक सद्भावमाथि चुनौती बढिरहेको भन्दै राजनीतिक स्थिरता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार भेलामा कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश र जिल्ला सभापति, भ्रातृ संस्थाका प्रतिनिधि तथा लोकतान्त्रिक आन्दोलनसँग सम्बद्ध बुद्धिजीवी सहभागी हुनेछन् । पार्टीका अर्का नेता डा. शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएको जानकारी दिएका छन् । राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको कोइरालाको भनाइ छ । त्यसैगरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीका नेता–कार्यकर्तालाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मुख्य लक्ष्य बनाएर संगठन विस्तार र तयारीमा जुट्न निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी आगामी निर्वाचनपछि देशको सशक्त राजनीतिक विकल्पका रूपमा स्थापित हुने दाबी गरेका छन् । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै त्यसपछि संघीय निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन् । वर्तमान सरकार लामो समय टिक्ने अवस्था नरहेको दाबी गर्दै उनले सरकारको पछिल्लो चार महिनाको कार्यसम्पादनले नै त्यसको संकेत दिएको टिप्पणी गरेका छन् । उनले बागमती प्रदेशसहित देशभर पार्टीको संगठन बलियो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी पनि गरेका छन् । अध्यक्ष घिसिङले अघिल्लो निर्वाचनमा पराजित भए पनि पार्टीले जनविश्वास जित्न सफल भएको जिकिर गर्दै अब संगठन विस्तार, सदस्यता वितरण अभियान र जनसम्पर्कलाई तीव्र बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।









