
काठमाडौं । सप्तरी, रूपनी गाउँपालिका–६ बिरेन्द्र बजारस्थित सडकमा म.प्र. ०१–००१ क ०२९६ नम्बरको टिपरमा म.प्र. ०१–००४ प ३२१६ नम्बरको मोटरसाइकल ठक्कर खाई दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने ३३ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको युनिक अस्पताल रूपनीमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडस्थित सडकमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई बिहान दुर्घटना हुँदा बस चालक समेत ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बसका चालक बाँके खजुरा गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुरेश बिसि, बसमा सवार जाजरकोट भेरी नगरपालिका–३ घर भएका ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुर नगरपालिका–३ घर भएका ३२ वर्षीय दिपेन्द्र केसी, सोही नगरपालिका–१० घर भएका ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाँके नेपालगंज उपमहानगरपालिका–७ घर भएका २२ वर्षीय कृष कनौजिया र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–४ घर भएका ६५ वर्षीय नरेन्द्रराज गिरी रहेका छन् ।









