
काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका–६ गोदार बस्ने सिङगेशवर महतोको साईकल पसल र साईकलको ट्युब, टायर स्टोर गरी राखेको कोठामा पुजाको दियोबाट आगो सल्किएर राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुर्खेत, लेकबेशी नगरपालिका–५ तल्लो खल टाकुरा बस्ने चन्द्रकली रजालीको घरमा गएराति आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ता कपडा समेत गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पोखरा, पोखरा महानगरपालिका–६ हल्लनचोक लेकसाईडस्थित सेलवेज सपिङ सेन्टरको स्टोर कोठमा दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । यसैबीच जाजरकोट, कुशे गाउँपालिका–५ चैँकस्थित सडकमा भे.२ त ३०९ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको टायरले किच्चिएर सोही गाउँपालिका–५ दम्दला बस्ने ६० वर्षीय खड्क थापाको साँझ मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, बिराटनगर महानगरपालिका–१८ लावाघाटमा एनएल ०२ जी ८९५२ नम्बरको भारतीय टेलर गाडीले मे.१० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा मेची नगरपालिका–१३ बस्ने ४४ वर्षीय राजेन गिरीको साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।









