
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार छन्ले परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छन्ले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए । परराष्ट्रमन्त्री साउदलाई यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा भएको हारको समिक्षा निर्मम रुपमा गरिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले उप निर्वाचनको निर्मम समिक्षा गरेर पार्टीलाई कसरी अघि बढाउने निर्णय गरिने बताएका हुन् । कोइरालाले हारको दोष कोहि एक जना नेतालाई मात्रै लगाउन नहुने स्पष्ट पारे । बैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन र तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका थिए । कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । डा कोइरालाले मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताउँदै गत वर्षको भन्दा ३ खर्व रुपैयाँ कमको बजेट आउने संभावना रहेको जानकारी दिए । उनले गत वर्षको तुलनामा राजस्व र अन्य आम्दानीका स्रोतहरू खुम्चिएका छन् । पार्टी संसदीय दलमा अर्थमन्त्रीले गरेको बिफिङ अनुसार आगामि बजेट गत वर्षको भन्दा ३ खर्ब भन्दा बढीले घट्ने अवस्था देखिएको छ । आर्थिक मन्दीका कारण व्यापार, उद्योग, सेवा, कृषि सबैजस्तो क्षेत्रहरू प्रभावित भएको डा कोइरालाले बताए । त्यसैगरी नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताएका छन् । उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए ।









