
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरिरहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरिररहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिन लागेको भन्दै प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीमा सशंय पैदा भइरहेका बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । त्यसैगरी सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए । उनले काँग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीर समेत गरे । उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हटनु परेको छटपटी सुरु भएको आरोप समेत लगाएका छन् । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न‘पर्ने बताएका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसदमा सांसदलाई बोल्न नदिनु गलत भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले संसदमा हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोकेको स्मरण गर्दै संसदमा बोल्न पाउनु सांसदको अधिकार भएको बताए । संसदमा सांसदले बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन, रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको कार्यक्रममा उनले भने । उनले संसद भनेको विचारको लडाइ गर्ने थलो भएको बताए । तर अहिले संसद पनि विचारको नभई बलको लडाइ हुन थालेको उनको भनाई छ । उनले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन काँग्रेसले ल्याएको भन्दै आलोचना पनि गरे ।









