
काठमाडौं । टोखा नगरपालिका–३ बस्ने पर्सा वीरगंज महानगरपालिका–१५ घर भएका ५७ वर्षीय ध्रुव बहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ शुन्दरहरैचा नगरपालिका–७ घर भएका ३२ वर्षीय राम बहादुर थापालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा राम बहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनले खड्कालाई कुटपिर गरी हत्या गर्नुको साथै मृतको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको छ । त्यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–८ बस्ने २५ वर्षीय विजय भन्ने रोबिन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७८ कात्तिक १४ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । त्यसैगरी बारा, निजगढ नगरपालिका–११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित सोही नगरपालिका–१२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेलाई राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।









