
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम विश्व–विद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताउँदै उनले विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताए । त्यसैगरी संसदीय समितिहरूको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडी बढेको छ । यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरु र सांसदहरुको ध्यान गएको छ । सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशील बनाउन सक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताए । विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरूलाई समिति सभापति बनाउँ भन्ने दलहरुको धारणा हुँदा समिति निष्प्रभावि भएको उनको तर्क छ । सांसद पौडेलले ३ वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताए । त्यस्तै माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरूका बिचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताए । उनले सहमतिका आधारमा हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने बताए । त्यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् । एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे । नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने उनको भनाइ थियो ।









