
काठमाडौं । निर्वाचन आयोगले १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरुलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । सो निर्वाचन प्रयोजनका लागि १० बुदेँ निर्देशन जारी गर्दै आयोगले क्यामारा, मोबाइललगायत लैजान निषेध गरेको हो । ‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ । यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने गराउन पनि निर्देशन दिएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहना अनुसार विकासका कामले तीव्रता पाउने विश्वास व्यक्त गरे । त्यसैगरी उनले संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू मिल्नुको विकल्प नभएको समेत उल्लेख गरे । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् । ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे । उनले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको पनि बताए । उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएको प्रति दुःख व्यक्त गरे । उनले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरुले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताए । उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए । उनले लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताए ।









