
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउनुभयो । उहाँले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्न‘भयो । त्यसैगरी नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् । काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए । उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताए । त्यसैगरी एमाले नेता टोपबहादुर रायमाझीको घरमा काठमाडौं परिसरको प्रहरी टोलीले खानतलासी गरेको छ । नक्कली शरणार्थी प्रकरणमा रायमाझीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म पनि उनी फरार छन् । प्रहरीले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना टोपबहादुर रायमाझीकै छोरा सन्दिप पनि छन् ।









