
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिए । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेरमात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसङ्ग पनि कार्यक्रममा उनले बताए । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन । काठमाडौंमा आयोजित नेपाली काँग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेका छन । उनले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताए । उनले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको जानकारी गराए । केन्द्रिय सदस्य आचार्यले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए । उनले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताए । काँग्रेस बिग्रिन र सिद्धिन लागेकोे भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । त्यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गर्नुभएको छ । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उहाँले आफ्नो पार्टीले नै संसदमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गर्नुभयो । राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गर्नुभयो । उहाँले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गर्नुभयो । समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने उहाँको धारणा थियो ।









