
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । गृह मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आईतवार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताबिरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ । उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ । त्यसैगरी नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । त्यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको अहिले सङ्ख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको भनाइ राख्नुभयो । अध्यक्ष ओलीले जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने भनाइ राख्नुभयो । सङ्गीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताउनुभयो । नेपाल धर्ती ज्ञान, सभ्यता, सङ्गीत, कला साहित्य शिक्षाको सुरुआत भएको उहाँको भनाइ थियो । उहाँले मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पार्नुभयो ।









