
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन । नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए । नेता सिंहले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने काँग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने धारणा राखे । उनले काँग्रेस पार्टी राम्रो विचारधारा भएको र अन्य कुनै पनि पार्टीमा सो कुरा नरहेको जिकिर समेत गरे । त्यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । फोकस नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रुपमा नेपाल गरिबिको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराए । समाज सेवालाई महान् कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताए । सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि उल्लेख गरे । उनले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् । त्यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन् । उनले एक कार्यक्रममा लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै त्यसो गर्नेहरूलाई कारबाही हुने उनले प्रस्ट पारे । मुलुक यसरी नचल्ने बताउँदै उनले जनतालाई यसरी नै शासन दिने हो भने सही नहुने बताए । आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले बताए । रोजगारीका लागि परीक्षा दिनेहरूले सम्बन्धित निकायमा भनिदिनप¥यो भनेर दिनदिनै भन्ने गरेको पनि श्रेष्ठले सुनाए । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए ।









