
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तीन जना पूर्व पदाधिकारीलाई ९ वर्षको जेल सजाय सुनाएको छ । त्यस्तै उनीहरूबाट बिगो र जरिवाना गरेर ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ असुल गर्नुपर्ने सजाय निर्धारण गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना र सदस्य उमेश ढकाललाई ९ र सदस्य सचिव चुडामणि शर्मालाई पनि ९ वर्ष कैद सजाय सुनाएको हो । त्यसैगरी नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन् । उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे । उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए । उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए । त्यसैगरी नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताएका छन् । उनले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन् । उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे । उनले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताए । उनले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताए । उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए ।









