
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन प्रति उदृत गर्दै आफ्नो अन्तरआत्माले भनेको खण्डमा प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको कुराको जवाफ दिंदै उक्त कुरा बताएका हुन् । ’राजेन्द्र लिङ्देन जीले नैतिकताको कुरा उठाउनु भयो । नैतिकताको विगत हेर्नुभयो भने दुई÷दुई पटक मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको पढ्नुभाको छ ? मैले कस्तो अवस्थामा दिए, के आधारमा दिए । नैतिकता कसले देखायो कसले देखाएन छातिमा हात राखेर विचार गर्नु । दुई पटक नैतिकताको आधारमै टेकेर राजीनामा दिएको हुँ । अहिले पनि मेरो अन्तरआत्माले भन्यो भने दिन्छु । तपाइले भनेको आधारमा त दिदिन्’ प्रधानमन्त्री दाहालले भनेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताएका छन् । मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने औल्याए । त्यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन् । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो । छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै साउदले खुला सिमाना, दुई तिहाइ व्यापार, पारबहन सुविधाका दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गरे । उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए । अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्वपूर्ण रहेको उनको भनाइ थियो । अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता रहेको परराष्ट्रमन्त्री साउदले बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा जाने पनि उनले समितिलाई जानकारी दिए । मन्त्री साउदले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का सन्दर्भमा सन २०१७ मा नै एमओयू भएको र कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको बताए । परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई यकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिए । उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिए । मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सिमानाका अझै सहज बनाउने र अन्य नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्ने तर्फ कूटनीतिक पहल जारी रहेको पनि उल्लेख गरे ।









