
काठमाडौं । धौलागिरी गाउँपालिका–२ लमसुङस्थित दरखोला लघु जलविद्युत आयोजनाको माथिल्लो ड्याम दिउँसो पहिरोले पुरिँदा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैबीच दैलेख, नौमुले गाउँपालिका–८ चौराठा बस्ने ४९ वर्षीया लक्ष्मी रिमाल सोही ठाउँस्थित झिम्पेखोलामा मृत अवस्थामा फेला परेकी छन् । नारायण नगरपालिका–७ स्थित गोरेटोबाट घर जाने क्रममा चिप्लिएर झिम्पेखोलामा खस्न गई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोष्ट लोहरेखोलाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । झापा, गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा घर भई हाल दमक नगरपालिका–४ ताराबारी बस्ने ६५ वर्षीय भागवत शर्मा मृत अवस्थामा फेला परेका छन् । यसैबीच रोल्पा, परिवर्तन गाउँपालिका–५ भालकोट बस्ने ६५ वर्षीय दल बहादुर ओलीको घरमा सोलरको तार सर्ट भई दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उदयपुर, त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने सन्तोष कार्कीको कच्ची भान्सा घरमा राति आगलागी हुँदा भाडावर्तन, अन्नपात, लत्ताकपडा, नगद समेत जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।









