
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूणर् सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूणर् सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन् । उनले दौंत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रुपमा भित्र्र्याउन एचसीसीएनको प्रमुख भुमिका रहेको बताए । उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताएका छन् । त्यसैगरी संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीचको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न संसद भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय शासन प्रणालीमा संघ र प्रदेश स्वतन्त्र रहने भएकाले राजनीतिक फेरवदलका कारण प्रदेश सभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्दै केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणको लागि पहल गर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले कोशी प्रदेशसभाको विषयमा पनि सम्मेलनमा छलफल भएको अदालतलाई प्रभाव पार्ने गरि कुनै निष्कर्ष ननिकालेको जिकिर गरे । सभामुख घिमिरेले व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउनु सरकारको दायित्व भएकाले आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनैपनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने जिकिर गरे । उनले अहिलेको मर्यादाक्रममा केहि प्रश्न उठेको अवस्थामा सरकारले मर्यादाक्रम तोक्दा तलमाथि गर्ने काम हुने गरेकाले यसमा पनि वैज्ञानिक तवरले छलफल गर्नुपर्नेमा सम्मेलनले जोड दिएको बताएका छन् । त्यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले अहिले कांग्रेसलाई गठबन्धनबारे समीक्षा गरेर बस्ने समय नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस कार्य समिति बैठकमा बोल्दै नेता कोइरालाले गठबन्धन गरेर ठिक वा बेठिक भयो भनेर अहिले समीक्षा गरेर बस्ने समय नभएको बताएका हुन् । नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै लड्न तयारी गर्नुपर्ने बताएका छन् । सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय नभएको उनको भनाइ छ । उनले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरूबाट जनअपेक्षा अत्यन्त बढी रहेको र त्यसअनुरुप जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जानेतर्फ सबै सचेत हुनुपर्नेका जोड दिएका छन् ।









